बझाङमा भूकम्पमा परी दुई जना घाइते

बझाङ : बझाङमा गएको भूकम्पमा परी दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो गएको भूकम्पका परी छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले जानकारी दिए ।

स्थानीयले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराए पनि उनीहरूको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ-ठाउँमा भवनहरू भत्किएको खबर आइरहे पनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका-१० को सत्यवादी माध्यमिक विद्यालय र हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ । भूकम्पसँगै आएको सुक्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडकमाथिबाट पहिरो जाँदा जयपृथ्वी नगरपालिका-७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पराकम्पन आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए । पाण्डेयले सडक खुलाउन डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए । उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउँदै सूचना संकलनको काम भइरहेको जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६. ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?