दोस्रो पाटन महोत्सवमा गायिका प्रिति आले प्रस्तुतिमा झुमे दर्शक

दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनमास्थित खेलकुद मैदानमा जारी ‘दोस्रो पाटन महोत्सव’मा गायिका प्रिति आलेको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित प्रितिले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए । उनले आफ्ना हिट गीतमार्फत डेढ घण्टा प्रस्तुति दिए ।

प्रितिको प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । शनिबार प्रिति आलेसँगै सुभद्रा श्रेष्ठ, श्री राम गन्धर्व लगायतको समेत प्रस्तुति रहेको थियो । सार्वजनिक बिदा परेकाले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकहरुको भीडभाड देखिएको थियो । पाटन युवा क्लबको आयोजनामा भएको महोत्सवमा शनिबार ५ हजार बढी दर्शक उपस्थित भएको जनाइएको छ ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गरेको क्लबका अमरबहादुर थापाले जानकारी दिए।

रमाइलो मेला, फुटवल, भलिवल प्रतियोगिता समेत हुने महोत्सवमा प्रवेश गर्नका सामान्य व्यक्तिका लागि ८० रुपियाँ र  विद्यार्थीका ५०  रुपियाँ टिकट दर तोकिएको छ । साथै ८ बर्ष मुनिका , जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जनाएको छ  ।

१५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।

दुई सय  स्टल हुने महोत्सवमा संजिव सिंह राना ,श्याम राना ,ज्योति मगर, प्रिती आले, दुर्गेश थापा, भोजराज काफ्ले, राजन चौलागाई, कर्णराज गिरी, रमेश प्रसाई, प्रिन्स मल्ल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

हरेक दिनमा महाेत्सव हेर्न टिकट काटेर जाने दर्शकको लागि कार्यक्रम सकिने अन्तिम दिनमा ४ गते संलग्न टिकटहरू बाट १ जनालाई चिठ्ठा पर्ने गरि खुल्ला रूपमा खाेलिने र त्यो रकम १ लाख हुने महाेत्सवका व्यवस्थापक अजित राइले जानकारी दिए ।

त्यति मात्रै हाेइन हरेक दिनमा ३ जना लाई आकर्षक बम्पर उपहारको समेत महाेत्सवमा व्यवस्था मिलाइएको छ । १ लाख पाउने १ जना र महाेत्सव अबधि १० दिनभरी हरेक दिन ३ जनाको दरले ३० जना गरि ३१ जनाले महाेत्सवमा गाेलाप्रथा द्वारा उपहार पाउने छन् ।

महोत्सव  असोज २४ देखि कात्तिक ४  गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?