निगमले मूल्य घटायो, पोखराका पम्पमा छैन डिजेल र पेट्रोल

पोखरा : नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य घटायो । निगमका अनुसार पेट्रोलको मूल्य ११ रुपैयाँ र डिजलको मूल्य पाँच रुपैयाँले घटेको छ । तर, पोखरामा भने सोमबार बिहानैदेखि पेट्रोल पम्पहरु खुलेनन् । पम्पमा लगाइएका सटरको बाहिर टाँसिएका पर्चामा लेखिएको थियो, ‘पेट्रोल छैन, डिजेल छैन ।’

यसअघि, इन्धनको मूल्य बढेको अवस्थामा पम्प व्यवसायीहरुले जानाजान इन्धन नभएको सूचना टाँस्ने गरेका थिए । बढेको मूल्यमा स्टकमा रहेको इन्धन बेच्नको लागि बजारमा कृत्रिम अभाव सिर्जना हुने गरेको थियो ।

तर, मूल्य घटेको बेलामा किन इन्धन अभाव हुनपुग्यो त ?

निगमको प्रादेशिक कार्यालयले चाहिँ बजारमा इन्धन ढुवानी नभएका कारणले नै अभाव हुन पुगेको जानकारी दिएको छ । ढुवानी नहुनुको कारण लगातार दुई दिनको सार्वजनिक बिदा रहेको बताइएको छ ।

शनिबारको नियमित बिदा र आइतबार चाहिँ घटस्थापनाको बिदा भएका कारण निगमले पम्पहरुमा इन्धन पठाउन सकेन । इन्धन पठाउन नसकेपछि नै सोमबार इन्धनको हाहाकार हुन पुगेको हो ।

नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले दुई दिनको सार्वजिनक बिदाका कारण डिपोबाट इन्धन पठाउन नपाएका कारण इन्धन सकिएर नै पम्पहरु बन्द भएको बताए । “हामीले शुक्रबार इन्धन दिएका थियौँ, सकिएको भएर होला,” उनले भने ।

पोखराको लागि मात्रै शुक्रबार एक लाख ८० हजार लिटर इन्धन पठाइएको उनले बताए ।

निगमका अनुसार पोखरामा दैनिक एक लाख ५० हजार लिटर पेट्रोल र दुई लाख ५० हजार लिटर डिजल खपत हुन्छ । पम्पहरुमा इन्धन पु¥याउनका लागि निगमसँग ८० वटा ट्यांकर छन् । तीमध्ये ४० वटाले पेट्रोल र ४० वटाले डिजल पम्पहरुमा पु¥याउने काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?