भानुको चन्द्राबती बजारमा साईनबोर्ड र मूल्यसुची नराखिएको भेटियो

दमौली : तनहुँको भानु नगरपालिकाको चन्द्राबती बजार क्षेत्रमा पहिलो पटक बजार अनुगमन गरिएको छ । नगरपालिकाले बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिँदै बिहिबार वडा नं. १३ को चन्द्राबती, वडा नं. ६ को टुहुरे पसल र पटके पसल क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरिएको हो ।

नगरपालिकाले ग्रामीण क्षेत्रको बजार पनि अनुगमन शुरु गरेकाले स्थानीय व्यवसायी उपभोक्तालाई पनि सचेत गराईएकाले अनुगमनलाई चाडपर्वमा मात्र नभई अन्य समयमा पनि निरन्तरता दिनु पर्ने स्थानीय व्यापारी कुबेर ढकालले बताए ।

नेपालीहरुको महान चाड दशैं, तिहार लगाएतका चाडपर्वमा बजारमा हुन सक्ने कालोबजारी, अखाद्य बस्तुको बिक्री वितरण, मापदण्ड विपरित दर्ता बिनाका व्यवसाय, सरसफाईको अवस्था लगाएतका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिए ।

चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्ने कार्य अन्तरगत बजार क्षेत्रहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए।

अनुगमनका क्रममा किराना पसल, होटल, खाजाघर, औषधि पसल लगाएतको पसलहरुको अनुगमन गरिएको थियो । म्याद सकिएको अखाद्यबस्तु , ब्यवशाय दर्ता नगरि संचालन गरेको, मूल्यसुची टाँस नगरिएको, सरसफाईको कमि, सडक छेउमा सामान राखेको लगाएतको कैफियत देखिएको नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

अनुगमनमा उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नं. १३ का वडा सदस्य भिमसेन अधिकारी, उद्योग वाणिज्य संघका हर्कमान श्रेष्ठ, नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डे, प्रहरी कार्यालय चन्द्राबतीका प्रहरी, नगरपालिकाको कृषि शाखाका राजन सेढाई, पशु शाखाका संजिब ढकाल, नगर प्रहरी प्रमुख पुर्का तामाङ लगाएतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?