पुतली बाजेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

पोखरा : कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो।

जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र पोखरा महानगरपालिका उनको सम्मानका लागि अन्तिम श्रद्धाञ्जलीका लागि संग्रहालयमा राखिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

मेयर आचार्यले काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा उनको ठूलो योगदान रहेको बताए।

पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको थियो।

नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ।

उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए। २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत् पढाउन नेपाल आएका थिए। २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली संग्रह गरेका थिए।

विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन्। ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?