तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति अस्ट्रेलिया जान लागेको हो ।

संयृक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रपक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ ।

प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिना, सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका  उपसभामुख बबिता कुमारी राउत ईशर, वाग्मती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड केसी छन् ।

यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमिल्सिनाकी स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधिमण्डलमा छन् ।

भ्रमण सम्पन्न गरी अध्यक्ष मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य २ डिसेम्बर, मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?