दमौली : “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं”भन्ने नाराका साथ बिहिबार दमौलीमा भूकम्प सुरक्षा दिवस मनाईंएको छ ।
विक्रम संवत १९९० साल माघ २ गते गएको भूकम्पको समयलाई स्मरण गर्दै तथा बिक्रम संवत २०७० साल वैशाख १२ गतेको भूकम्पबाट भत्किएका संरचनाको पुर्ननिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माण सम्बन्धी महाअभियान सुरु गरे देखी नै देशैभर यो दिवस हरेक स्थानीय तहले मनाउदै गर्दै आईरहेको छ ।
दिवसको अवसरमा नगरपालिकाले व्यास नगरभित्रका बिभिन्न संघसंस्था तथा बिषेश ब्यत्तित्वहरुको उपस्थितीमा सचेतना सभा आयोजना गरी दिवस मनाएको हो ।
गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले व्यास नगरपालिकाले भुकम्पीय जोखिम न्यूनीकरणको क्षेत्रमा उदाहरणीय तथा अनुकरणीय कार्य गरेको भन्दै नगरपालिकाको प्रशंसा गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११ औ जोखिमपूर्ण देशमा पर्ने भएकाले यस्तो किसिमको कार्यक्रमले विद्यमान भूकम्पीय जोखिमलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति प्रा. डा. कृष्ण प्रसाद गौतमले भूकम्प सुरक्षा दिवसका दिनमा मात्र नभई हामी सबै सरोकारवाला निकायहरुले भूकम्पीय सुरक्षित समुदाय निर्माणका लागि यस्ता सचेतनाका कार्यक्रमहरुलाई निरन्तरता दिनपर्ने साथै सुरक्षित घर निर्माणका लागि सबैले सकारात्मक भूमिका निभाउनुपर्र्ने बताए ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दमौलीमा रहेका कार्यलयहरुका कार्यलय प्रमुखहरु, नगरपालिकाका कर्मचारी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधहरु,भवन निर्माण व्यवसायका प्रतिनिधी, व्यापारी, बुद्धिजीवी,बिभिन्न विद्यालयका विद्यार्थी लगायतका सहभागीता रहेको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाको भूकम्पीय जोखिम सम्बन्धी परिदृष्य तथा जोखिम न्यूनीकरणमा व्यास नगरपालिकाले चालेका कदमहरुको बारेमा ई. श्री रविन्द्र लाल मुल र ई. श्री अमृत के.सी.ले प्रस्तुती गरेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?