दमौली : तनहुँको व्यास नगरपालिका-१ स्थित करङकाठ बसपार्क जाने बुल्दी खोलामा मोटरेवल पुल निर्माण लागि ठेक्का सम्झौता गरेको छ । बुधवार व्यास नगरपालिका र निर्माण कम्पनी ज्वालामूखी कन्स्टक्सन बीच ठेक्का सम्झौता भएको हो ।
१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सूवेदीले जानकारी दिए ।
उक्त निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर र कन्टिजेन्सी बाहेक रु.पाँच करोड ३३ लाख ५० हजार ७ सय तीसमा ठेक्का सम्झौता गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
०८० पौष ३ गते नगरपालिकाले सूचना प्रकाशित गरी विद्युतीय बोलपत्र आव्हान गरेकोमा तीन वटा फर्मले बोलपत्र दर्ता गराएका थिए । उक्त फर्ममध्ये ज्वालामुखी कन्स्टक्सनले ८.४० प्रतिशत रकम घटीमा बोलपत्र दर्ता गरेपछि ठेक्का पाएका हुन् ।
सम्झौता पश्चात नगर प्रमुख न्यौपानेले तोकिएको समयमा कार्य सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई निर्देशन दिएका थिए। मोटरेवल पूल निर्माण गर्ने स्थानमा हाल ह्यूम पाईप कल्र्भट रहेको छ ।
वर्षातको समयमा बुल्दीखोलामा बाढी आंउदा उक्त कल्भर्टले पानीको फ्लोलाई रोक्दा वरिपरीको स्थानमा डुवानको समस्या हुने गरेकोमा पुल निर्माण भएपछि उक्त समस्या समाधान हुनुका साथै व्यवस्थित रुपमा बसपार्क संचालन गर्न सहज हुने नगरपालिकाले अपेक्षा लिएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?