आज यी स्थानमा हुनेछ धेरै भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । जसका कारण केही प्रदेशमा भारी वर्षा हुने र केहीमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

अहिले देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ भने गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको हुन सक्नेछ ।

भारी र धेरै भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार देशभर बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको हुन सक्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा प्रदेशका भारी वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?