काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको उपभोक्ता मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य वृद्धि गर्ने निर्णय गरेको बताइएको छ ।
बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।
नयाँ मूल्यसूचीअनुसार अब आयो नुन प्रतिकिलो उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ ।
यसैगरी न्यू शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।
आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ ।
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।
साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?