नौ लाख जरिवाना तोकिएका शुक्लागण्डकीका गोपीराम पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले बैङ्किङ कसुर मुद्धामा उच्च अदालत पोखराबाट जरिवाना फैसला भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने ४९ वर्षीय गोपीराम विश्वकर्मा रहेको  प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए। ।

बैङ्किङ कसुर मुद्धामा उच्च अदालत पोखराको विसं २०७९ असार १३ गतेको फैसला बमोजिम रु नौ लाख ४९ हजार जरिवाना तोकिएका उनी उक्त रकम भुक्तान नगरी फरार रहेका थिए ।

प्रहरीले निजलाई आज दिउँसो पक्राउ गरी जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत उपस्थित गराएको तनहुँ प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?