मुख्यसचिवमा अर्याल नियुक्तपछि सचिव ज्ञवालीले दिए राजीनामा

काठमाडौं : नयाँ मुख्यसचिव नियुक्त भएसँगै बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका छन् ।

सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

ज्ञवालीको सचिवको ५ वर्षे कार्यकाल १० दिनपछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । आफु भन्दा चौथो नम्बर बरियतामा पछि रहेका सचिव मुख्यसचिव नियुक्त भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा पनि स्वीकृत गरिसकेको छ ।

सचिव पदमा कार्यरत ७० जनामध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली नै हुन् । उनी वर्तमान मुख्यसचिव गड्तौला भन्दा पनि वरिष्ठ हुन् ।

२०२५ साल फागुन २६ गते जन्मिएका ज्ञवाली ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अबको १० दिन पछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जादैँ थिए ।

सहसचिवबाट २०७६ सालमा सचिवमा बढुवा भएका ज्ञवालीको पहिलो पदस्थापन लुम्बिनी प्रदेशको प्रमुख सचिवमा भएको थियो । लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर २०७६ भदौ ९ देखि २०७७ मंसिर २२ गतेसम्म १५ महिना बिताएका थिए ।

त्यसपछि उनी राष्ट्रपति कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिव हुँदै राष्ट्रिय योजना आयोगको सचिव भएका थिए । उनले राष्ट्रपति कार्यालयमा २०७८ असार २२ देखि २०७९ साउन २२ सम्म एक वर्ष बिताएका थिए ।

ज्ञवालीसँगै २०६६ सालमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका ७ जना सहसचिव मध्ये पहिलो नम्बरमा सिफारिस भएका सुरेश अधिकारी ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अहिले संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सचिवको जिम्मेवारीमा छन् ।

दोस्रो नम्बरमा सिफारिस भएका हरि पौडेल सचिवको कार्यकाल पुरा गर्न नपाउदैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको पदमा नियुक्त भएर कार्यरत रहेका छन् ।

तेस्रो नम्बरमा सिफारिस ज्ञवाली नै भएका थिए । उनी अहिले राजपत्रांकित विशिष्ट श्रेणी अर्थात मुख्यसचिव र सचिवमा कार्यरत ७० जना मध्ये सबैभन्दा बरिष्ठ सचिव हुन् ।

चौथो नम्बरमा सहसचिव सिफारिस भएका तोयम राय सचिवको कार्यकाल पुरा नहुदैँ महालेखापरीक्षक पदमा कार्यरत छन् भने पाँचौ नम्बरमा सिफारिस भएका केवलप्रसाद भण्डारी ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गइसकेका छन् ।

छैटौ नम्बरमा सहसचिव सिफारिस भएका हरिप्रसाद बस्याल सचिवबाट अनिवार्य अवकाशमा गइसकेका छ भने सातौ नम्बरमा सहसचिव सिफारिस भएका सुदर्शनप्रसाद ढकाल पनि अनिवार्य अवकाशमा गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?