दमौली : तनहुँको ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित चौथो ऋषिङ्ग खुल्ला अल्ट्रा म्याराथन यही पुस २७ गते हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको हो ।
शनिबार ऋषिङ—१ झापुटारमा पत्रकार सम्मेलन गर्दै ऋषिङलाई देशैभरी परिचित गराउने उदेश्यले यही पुस २७ गते अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको उपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नियमित रुपमा प्रत्येक बर्ष म्याराथन गरिदै आएको उपाध्यक्ष गिनुमाया थापाले बताइन।
खुल्ला म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ६५ हजार, रु ४० हजार, रु २५ हजार र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका ऋषिङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं खेलकुद विकास समितिका संयोजक दल बहादुर थापाले जानकारी दिए । पुरुस्कार रकम कर कट्टी गरेर प्रदान गर्ने गाउँपालिका वडाध्यक्ष थापाले बताए।
सहभागी हुन चाहने धावकले यही पुस २६ गते दिउसों १ बजेसम्म फाराम भर्न सक्ने वडाध्यक्ष थापाले जानकारी दिए ।
खुल्ला म्याराथन धारुङ भञ्ज्याङदेखि दौड सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका -७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ।
जसको दूरी ४२.२ किलोमीटर रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?