तनहुँ, १५ श्रावण – आन्तरिक राजश्व कार्यालय तनहुँले १२ अर्ब ९९ करोड तीन लाख ८७ हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१⁄०८२ मा कार्यालयलाई १४ अर्ब ९३ करोडको राजश्व असुलीको लक्ष्य रहेकोमा लक्ष्यको ८७ प्रतिशत राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत डाक्टर लाल बहादुर खत्रीले जानकारी दिए ।
आर्थिक वर्ष २०८१⁄०८२ को लागि अन्तशुल्क तर्फ १० अर्ब ५३ करोडको लक्ष्य रहेकोमा ९ अर्व ४५ करोड अर्थात ९० प्रतिशत राजश्व असुली भएको हो । आयकर तर्फ ९० करोड लक्ष्य रहेकोमा ७१ करोड ९६ लाख अर्थात ८० प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ ४३ करोडको लक्ष्य रहेकोमा २९ करोड ७४ लाख अर्थात ६९ प्रतिशत राजश्व असुली भएको कार्यालयका सुचना अधिकारी कर अधिकृत ठाकुर प्रसाद सुवेदीले जानकारी दिए ।
कार्यालयले आर्थिक वर्ष २०८०⁄८१ मा १५ अर्ब १० करोडको राजश्व असुली लक्ष्य लिएकोमा ११ अर्ब ५२ करोड राजश्व असुली गरेको थियो । सो आर्थिक वर्षमा ७६ प्रतिशत राजश्व असुली भएको थियो । आर्थिक वर्ष २०८०⁄ ०८१ को तुलनामा आर्थिक वर्ष २०८१⁄ ०८२ मा १ अर्ब ४६ करोड अर्थात ११ प्रतिशत बढी राजश्व असुली भएको हो । आर्थिक वर्ष २०७९⁄०८० मा कार्यालयले १० अर्ब ८० करोड राजश्व असुली गरेको आन्तरिक राजश्व कार्यालय दमौलीले जनाएको छ ।
आर्थिक गतिविधि कम भएको बाबजुत पनि आर्थिक वर्ष २०८०⁄८१ को तुलनामा आर्थिक वर्ष २०८१⁄०८२ मा १ अर्ब ४६ करोड बढी राजश्व असुली भएको प्रमुख कर अधिकृत खत्रीको भनाई छ । आन्तरिक राजश्व कार्यालय दमौलीको तनहुँ, लमजुङ, गोर्खा र मनाङ जिल्ला कार्यक्षेत्र रहेको सुचना अधिकारी सुवदीको भनाई छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?