सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रतिको प्रतिबद्धता जनाउँदै टिम नेपो तनहुँले आफ्नो सातौं स्थापना दिवसको अवसरमा व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले टिम नेपाले मानुङकाेटकाे प्रचारप्रसार एवं पर्यटकीय प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताए । व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले चर्चित स्थल मानुङकाेटमा वृक्षरोपण र झण्डोत्तोलन गर्नु निकै महत्त्वपूर्ण भएकाे बताए ।
उक्त अवसरमा मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानुङकोटमा राष्ट्रिय झण्डा फहराइँदै राष्ट्रिय गौरव अभिव्यक्त गरिएको थियो। साथै, वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यसहित विभिन्न जातका बिरुवा रोपिँदै वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठ, अन्य पदाधिकारी, सदस्यहरू, स्थानीयवासी तथा विभिन्न सामाजिक संघसंस्थाबाट प्रतिनिधित्व गरिरहेका सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले, टिम नेपो तनहुँले आगामी दिनहरूमा पनि सामाजिक रुपान्तरण र प्रकृति संरक्षणमा आधारित सकारात्मक गतिविधिहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?