व्यास नगरपालिकाका १० निर्णय : पृथ्वी राजमार्गको २५ मिटर क्षेत्र खाली गराउन आग्रह

दमौली । व्यास नगरपालिकाको नगर कार्यपालिकाको नियमित बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रशासन, शिक्षा, पूर्वाधार, भूमि व्यवस्थापन, विपद् तथा सार्वजनिक सेवासँग सम्बन्धित निर्णय गरेको हो।

बैठकले यसअघि सम्पन्न कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गर्दै विभिन्न कार्यविधि पारित गरेको छ। जसमा व्यास नगरपालिका लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८०, महिला उपप्रमुख कार्यक्रम सहयोग वितरणसम्बन्धी कार्यविधि, २०८०, करार कर्मचारीको सेवा सुविधासम्बन्धी कार्यविधि तथा विपद् सहायता सहयोग सञ्चालन कार्यविधि रहेका छन्।

त्यस्तै, विश्व आदिवासी दिवस (श्रावण २४) का अवसरमा अत्यावश्यक सेवाबाहेकका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

व्यास नगरपालिकाका विभिन्न शाखाबाट विगत वर्षमा सञ्चालन भएका कार्यक्रमहरूको एकीकृत विकास परियोजना (IUDP) सँग तुलनात्मक अध्ययन गरी आगामी योजनाका लागि पुनरावलोकन प्रतिवेदन तयार गर्न कार्यालयलाई निर्देशन दिइएको छ।

भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गासम्बन्धी निस्सा वितरणको कामसमेत अघि बढाइने भएको छ। वडा नं. १ देखि १४ सम्म निस्सा प्राप्त व्यक्तिहरूको घरजग्गाको पहिलो चरणको नापी कार्य २०८० भदौ १ गतेदेखि सुरु गर्ने निर्णय बैठकले गरेको छ।

सङ्घ र प्रदेशअन्तर्गतका योजना तथा आन्तरिक बजेटबाट वडा कार्यालय भवन निर्माण गर्ने योजनाको २०८० भदौभित्रै टेन्डर प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिइएको छ।

बैठकले काठमाडौँ–पोखरा पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडक खण्डको व्यास नगरपालिका क्षेत्रभित्र सडक केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५ मिटर सडक क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा रहेका संरचना हटाई सडक निर्माण कार्यमा सहयोग गर्न सम्बन्धित जग्गाधनीलाई अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै, व्यास नगरपालिका क्षेत्रभित्र सफासडकतर्फ पृथ्वी राजमार्गसँग जोडिएका नयाँ भवन निर्माण हुने क्रममा सटर तथा नगरपालिकाका घरमा व्यवसाय सञ्चालन गर्दै आएका बैंक तथा व्यवसायीलाई यसअघिकै भाडादर कायम गरी थप चार वर्षको म्याद दिने निर्णय गरिएको छ।

बैठकले हाल डेङ्गु, कन्जक्टिभाइटिस (आँखा पाक्ने), लेप्टोस्पाइरोसिस लगायतका रोगको प्रकोप तथा बाढीपहिरोको जोखिम बढिरहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। कुनै विपद् वा घटना भए तत्काल सम्बन्धित वडाध्यक्ष वा नगरपालिका सूचना केन्द्रमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?