काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वअनुसार आयोग पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएका छन् ।
आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँचको व्यवस्था, लैंगिक तथा अपाङ्गमैत्री संरचना र कर्मचारी परिचालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदाताले निर्धक्क रूपमा आफूले चाहेको उम्मेदवार र राजनीतिक दललाई मत दिन सक्ने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
यसैबीच तयारीका क्रममा केही दुखद घटना पनि भएका छन् । रामेछापमा मतदान केन्द्रतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी र मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी सर्लाही, मुस्ताङ र कञ्चनपुरमा कार्यक्षेत्रमै खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको ज्यान गएको आयोगले जनाएको छ । आयोगले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
आयोगले निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएको उल्लेख गरेको छ । लोकतन्त्र सुदृढ बनाउन मतदान नागरिकको अधिकार र दायित्व दुवै भएको जनाउँदै आयोगले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अपिल गरेको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?