व्यास नगरपालिकाले भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण प्रक्रिया अघि बढाउने निर्णय

दमौली – व्यास नगरपालिकाको २४१औँ कार्यपालिका बैठकले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विकास योजनाको प्रगति समीक्षा गर्ने तथा भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण प्रक्रिया अघि बढाउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकले यसअघि सम्पन्न २४०औँ कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गरेको छ। साथै पर्यटन प्रवर्द्धनका लागि प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौदामा समेत आवश्यक सुझाव समावेश गरी पारित गर्ने निर्णय गरिएको छ।

नगरपालिकाले आगामी असार ३१ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यसैगरी वडा नं. १ देखि १४ सम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सम्पन्न भएका स्थानमा पहिलो चरणमा जग्गाधनी प्रमाण–पूर्जा वितरणका लागि जिल्ला भूमि समस्या समाधान समितिलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास योजनामध्ये अधिकांश सम्पन्न भएको जानकारी बैठकमा प्रस्तुत गरिएको छ। योजना कार्यान्वयन, बजेट खर्च तथा राजस्व संकलनको अवस्थाबारे समेत समीक्षा गरिएको नगरपालिकाले जनाएको छ।

बैठकले वर्षायाममा सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै वडा कार्यालय, टोल विकास संस्था तथा सम्बन्धित निकायलाई पूर्वतयारी र तत्काल उद्धार तथा व्यवस्थापनका लागि सक्रिय रहन निर्देशन दिएको छ। साथै नगर क्षेत्रमा बढ्दो चोरी नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्न आवश्यक सहयोग गर्ने निर्णय पनि गरिएको छ.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?