कोभिडपछिको पत्रकारिता संवाद कार्यक्रम

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ पछि पत्रकारिताको भविष्यको योजना बनाउन सहयोग पु¥याउने उद्देश्यले ‘कोभिड पछिको पत्रकारिता संवाद’ कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँको आयोजना तथा नेपाल पत्रकार महासंघको समन्वयमा बुधबार पत्रकारहरुको समस्या, चुनौती र भविष्यको योजना बनाउन सहजता कायम गर्न कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता अहिले प्रविधिको युगमा प्रवेश भएको भन्दै प्राविधिक ज्ञानमा विज्ञता हासिल गर्न आवश्यक रहेको बताए । विष्टले कोभिड संक्रमणले पत्रकारितामा धेरै चुनौती थपिएको बताए । कोभिडले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीय तहहरुसँग समन्वय गरी व्यवस्थापनमा जुट्नुपर्ने बताए । सरकारले पत्रकारहरुका लागि बजेटमा समावेश गरेको योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रक्रियामा कुनै कसर नछाड्ने विष्टले बताए ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय प्रदीप काफ्ले र त्रिभुवन पौडेल, महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष अस्मिता खनाल, सचिव प्रताप राना लगायतले मिडिया सञ्चालन र देशको कालखण्डमा जस्तोसुकै परिस्थितिमा पनि आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?