शीतल निवास अगाडि निहारिका राजपुतद्वारा आत्मदाह प्रयास

काठमाडौं : विगत एक सातादेखि न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी हुन् ।

शीतल निवास अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । निहारिकाले साउन २० बाट आमरण अनशन सुरू गरेकी थिइन् । बसन्तपुर डबलीमा अनशन बसेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

प्रहरीले उनको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिइएको निहारिकालाई महाराजगञ्ज वृत्तमा लगिएको छ । प्रहरीका अनुसार निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपीलाई पक्राउ गर्न माग राख्दै आमरण अनसनमा बसेकी थिइन् ।

त्यसोत, यसअघि नै जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्बन्ध रहेको भन्दै आरोपीलाई सफाइ दिएको थियो । त्यसपछि उक्त निर्णयविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उनले आफ्नो मुद्दा चाँडो किनारा लगाउन माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?