प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् ।

पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उनले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सचिवालयले जनाएको छ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन ।

देउवालाई प्रधानमन्त्री दाबी गर्दा एमालेका माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरे पनि प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?