प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त पाएका छन् ।

आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए ।

एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उनलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन्  । एक महिनाभित्र विश्वासको मत लिने सुविधा भए पनि उनले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?