कक्षा १२ को परीक्षा साउन ३१ देखि,होम सेन्टरबाटै दिन पाउने

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा सय पूर्णांककै

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । यो विधिको आलोचनासमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?