दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसले उच्चशिक्षा र विद्यालय शिक्षाका कार्यक्रमहरूलाई छुट्टा-छुट्टै व्यवस्थापन र सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सुझाव बमोजिम क्याम्पसले स्नातक र स्नातकोत्तर तहका उच्चशिक्षा कार्यक्रमहरुलाई क्याम्पस सञ्चालक समिति मार्फत र कक्षा ११/११ लाई विद्यालय व्यवस्थापन समिति मार्फत सञ्चालन गर्न लागेको हो ।
क्याम्पस संचालक समितिको पछिल्लो बैठकको निर्णय बमोजिम क्याम्पसले संचालन गर्न लागेको बिद्यालयलाई आदिकवि भानुभक्त माध्यमिक विद्यालय नामाकरण गरिएको छ ।
शनिबार दिउँसो क्याम्पसमा कक्षा ११ र १२ को विद्यार्थीहरूको वृहत अभिभावक भेलाले विद्यालय कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ कक्षासम्म विद्यार्थी भर्ना कार्यक्रम संचालन गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले जानकारी दिए ।
भेलामा क्याम्पस सञ्चालक समितिका सदस्यहरु सरिता थापा भण्डारी, मोहन गिरी, निवर्तमान आन्तरिक लेखा परीक्षण समिति संयोजक ऋषिराम ढुंगाना, पुस्तकालय सल्लाहकार समिति सदस्य हेम पौडेल,अभिभावकहरू राजकुमार श्रेष्ठ र शान्ता वास्तोला र नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस इकाइका अध्यक्ष विजयराज खनालले पनि सम्बोधन गरेको थियो ।
उक्त भेलाबाट तदर्थ विद्यालय व्यवस्थापन समिति निर्वाचनका लागि क्याम्पसले सहायक क्याम्पस प्रमुख सागर पौडेलको संयोजकत्वमा नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइका संयोजक विजयराज खनाल र कर्मचारी कृष्णकुमार श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय निर्वाचन प्रबन्ध समिति गठन गरेको थियो ।
उक्त निर्वाचन प्रबन्ध समितिले शनिबार भेलामा उपस्थित अभिभावकहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिको तदर्थ समिति गठन सम्पन्न गरेको छ ।
तदर्थ समितिको अध्यक्षमा ब्यास-१० का ऋषिराम ढुंगाना सर्वसम्मत निर्वाचित हुनुभएको छ। समितिको अन्य सदस्यहरुमा अभिभावकहरू मध्येबाट राजकुमार श्रेष्ठ, आनन्द कुमारी घर्ती, पदम बहादुर दरै, भक्त बहादुर अधिकारी, शान्त बास्तोला र सुमित्रा बिक रहनुभएको छ । उक्त तदर्थ समितिमा हाललाई क्याम्पस प्रमुख, क्याम्पस प्रमुखले तोकेको सहायक क्याम्पस प्रमुख र शिक्षक प्रतिनिधि र कक्षा ११/१२ का संयोजक समेत पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
सोही व्यवस्था बमोजिम समितिमा सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी र सहायक प्राध्यापक बिमल खत्रि समितिको सदस्यमा चयन गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष समितिको सल्लाहकारमा रहने पनि व्यवस्था गरिएको छ ।
क्याम्पसले संचालन गर्ने आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई औपचारिकरुपमा नगरपालिकामा दर्ता गर्ने,विद्यालय मा थप भौतिक तथा शैक्षिक पूर्वाधारको व्यवस्था मिलाउने, विद्यालय व्यवस्थापन समिति गठन गर्ने जिम्मेवारी तदर्थ समितिलाई दिईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?