ऋषिङ्गमा कक्षा १ देखि ३ को पाठ्यक्रम प्रबिधिकरण तालिमको उद्घाटन

ऋषिङ्ग गाउँपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले  जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई तनहुँ र ऋषिङ्ग गाउँपालिका शिक्षा शाखाको संयुक्त्त आयोजनामा श्री शुक्ला माध्यमिक विद्यालय ऋषिङ्ग-१ बेल्टारमा संचालित  दुई दिने कक्षा १-३ को पाठ्यक्रम प्रबिधिकरण तालिमको उद्घाटन गरेका छन् ।

ऋषिङ्ग गाउँपालिका वडा नं १, २, ३ र ४ अन्तर्गतका विद्यालयका कक्षा १-३ मा अध्यापन गर्ने ३७ जना शिक्षकहरुका लागि संचालित सो तालिममा  ऋषिङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुवाष चन्द्र रानाभाटको सभापतित्व रहेको कार्यक्रमा उपप्रमुख गिनुमाया थापा, वडा अध्यक्ष श्री बहादुर आले, शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत विश्वराज रेग्मी, राष्ट्रिय प्रारम्भिक पढाई सीप विकास कार्यक्रमका जिल्ला संयोजक केशवराज सिग्देल आदिको उपस्थिति रहेको थियो ।

सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले शिक्षाको विकास भौतिक विकासले मात्रै नहुने बताउँदै गुणात्मक विकासका लागि सबै पक्ष लाग्नु पर्ने बताए। ऋषिङ्ग गाउँपालिकालाई समृद्ध ऋषिङ्ग बनाउने हेतुले शिक्षामा लगानी बढाएको बताउदै   उनले शिक्षामा परिवर्तन ल्याउने मुख्य जिम्मेवारी शिक्षकको रहेको समेत ध्यानाकर्षण गराएका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख गिनुमाया थापाले तालिमले शिक्षकहरुको शिक्षण सिकाई सिपमा परिवर्तन गर्नुपर्ने साथै शिक्षकले ईमान्दर भएर सिकेका ज्ञान सीप व्यावहारमा प्रयोग गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष आलेले शिक्षाको विकासको लागि गाउँपालिकाले हरेक वर्ष महत्वपुर्ण बजेट विनियोजन गरेको समेत जानकारी दिए ।

ऋषिङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास चन्द्र रानाभाटले  पनि गाउँपालिकाले शिक्षामा परिवर्तनको लागि  पहल भएको बताउदै कक्षा १-३ मा नयाँ पाठ्यक्रमको मर्म अनुसार तालिममा सिकेका कुराहरू कक्षाकोठामा लागु हुनुपर्ने जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?