पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आजको दिन नेपाली क्रिकेटमा ऐतिहासिक दिन हो । तीन वर्षअघि आजकै दिन नेपालले ओडिआईमा पहिलो खेल जितेको थियो । उक्त खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाए । संयोगबस त्यही दिन पारेर पारसले सन्यास लिएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेटबाट बल र ब्याट थन्काउने निर्णय गरेका छन्। मंगलबार बिहान पारसले आफ्नो १९ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरलाई अन्त्य गर्ने निर्णय गरेका हुन्।

नेपालमा क्रिकेटको माहोल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाउन पारसको नेतृत्वमा रहेको नेपाली टिमको योगदान छ।अझ भनौ नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउने श्रेय पारसलाई जान्छ। ३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गर्‍यो। उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।

खेलकुद क्षेत्रका सेलिब्रेटी पारसले मैदानमा आक्रमक शैलीमा ब्याटिङ गर्दै समर्थकको मन जिते।अहिले राष्ट्रिय टिममा परेका कतिपय युवा खेलाडी पारसको खेल हेरेर हुर्किएका थिए। उनको खेलेर हेरर क्रिकेटप्रति आकर्षित भएका थिए।दशकअघि उमेर समूहमा तहल्का मच्चाएको नेपाल अहिले सिनियर स्तरमा पनि बलियो टिमलाई चुनौती दिन सक्ने हौसियत छ। त्यसैले पारस नेतृत्वको नेपाली राष्ट्रिय टिम नेपाल क्रिकेटको एउटा युग हो।

पारसले सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान बन्न सफल भए। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो।

१० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।राष्ट्रिय टिमबाट खेल्दा दर्जनौं कीर्तिमान बनाएका पारसको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय शतक हान्ने कीर्तिमान छ।नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्। ‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरें।  मेरो जीवनमा  मैले देखेको सपना भनेको  नै मैले नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ,’ पारसले लेखेका छन्,‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका आफ्ना सपना भने अझै बामे सर्दै गरेको बताएका छन्।  ‘मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्,’ पारसले लेखेका छन्,’हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?