५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट देखिँदै

काठमाडौं : हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् ।

खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो  पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । आजभन्दा ५० हजार वर्षपहिले पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छेतारा नै फेरि पृथ्वीको नजिक आएको बताइएको छ ।

यो पुच्छेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले हेर्न सक्नेछन् । फेब्रुअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत देख्न सक्नेछन् ।

यो पुच्छ्रेतारा चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा तापले वाष्पीकरण भएर लामो मुस्लो निस्कन्छ । उक्त मुस्लो  पृथ्वीबाट हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो ।
उनका अनुसार यो पुच्छ्रेतारा सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिनेछ ।

पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । डाइकार्बन अणुहरुको कारणले गर्दा यो तारा हरियो रङ्गको देखिने भएको हो । कुनै समयमा कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ ।

वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पहिला पृथ्वीको नजिकमा आइसकेको उक्त पुच्छ्रेतारालाई बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन-अवलोकन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?