दमौली : निजी क्षेत्रको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघको ३७ औं साधारणसभा शनिबार दमौलीमा सम्पन्न भएको छ । साधारण सभाको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ललेले उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै वाग्लेले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए । देशमा भएको कृषि, पर्यटन, जलस्रोतको सम्भावनालाई उपयोग गर्न सकेमात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ ।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रको सहयोगले मात्र नगरपालिकाले अघि सारेको महत्वकांक्षी योजनाहरु पुरा हुनसक्ने बताए । व्यास नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन, यस क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने तथा धार्मिक पर्यटनको गन्तव्य बनाउने लगायतका योजना अगाडि सारेको न्यौपानेले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संयोजक सञ्जिवबहादुर कोइरालाले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सके मात्र विकास र समृद्धि सम्भव हुने बताए । आर्थिक संमृद्धिका लागि सेवामुलकसँगै उत्पादशील क्षेत्रमा लगानी गर्न स्थानीय सरकारले जोड दिनुपर्ने बताए।
स्थानीय तहमा नै रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई देशमा नै रोजगारी दिने तर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, पुर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य वृघराज श्रेष्ठ,तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, दमौली बजार इकाई सभापति भुपाल आले, संघकी महिला उद्यमीविकास समितिका सभापति सकुन्तला आले लगायत विभिन्न राजनीति दलका प्रतिनिधिहरुले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?