काठमाडौं : सरकारले पुस महिनामा एक खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम सरकारले पुसका लागि राखेको लक्ष्यभन्दा २९.३५ प्रतिशत कम हो । पुसमा सरकारले एक खर्ब ८७ अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
सरकारले राखेको लक्ष्यको ७०.६५ प्रतिशत मात्र राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुसमा कुनै पनि शीर्षकमा लक्ष्यअनुसार राजश्व संकलन भएको छैन । आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारले गाडी तथा मदिराजन्य वस्तु आयातमा रोक लागाउँदा चालु आर्थिक वर्षका ६ महिनामा नै लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेको हो ।
यो वर्ष अर्थतन्त्रमा चाप परेकाले पनि राजश्वमा प्रत्यक्ष प्रभाव देखिएको हो । कर राजश्ववापत पुसमा एक खर्ब ६५ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको भए पनि यो महिना एक खर्ब १३ अर्ब ७६ करोड २६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
मन्त्रालयले गैरकरबापत २२ अर्ब १२ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, एक महिनाको अवधिमा १५ अर्ब ८८ करोड ८४ लाख रुपैयाँ गैरकरबापत राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भन्सारमार्फत पुसमा मात्र २९ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । उक्त महिना यो शीर्षकमा सरकारले २१ अर्ब ७१ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यसैगरी पुसमा मूल्य अभिवृद्धि करबापत २५ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । अन्तःशुल्कबापत १३ अर्ब ३३ करोड एक लाख, शिक्षा सेवा शुल्कबापत ६ करोड ५६ लाख रुपैयाँ र आय करबापत ५२ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
मन्त्रालयका अनुसार शिक्षा सेवा शुल्क शीर्षकमा लक्ष्यको सबैभन्दा कम राजश्व संकलन भएको छ । यो महिना लक्ष्यको ५०.७७ प्रतिशत मात्र राजश्व संकलन भएको मत्रालयले जानकारी दिएको छ ।
पुसको अन्तिम साता ८४ अर्ब १८ करोडभन्दा बढी राजश्व संकलन
पुसको अन्तिम साता मात्र राजश्ववापत ८४ अर्ब १८ करोड ३८ लाख रुपैयाँ संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस २३ गतेसम्म चार खर्ब पाँच अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
पुस ३० गतेसम्म आइपुग्दा चार खर्ब ९० अर्ब चार करोड रुपैयाँ राजश्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पुस मसान्तसम्म सात खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो ।
गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलन १५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म पाँच खर्ब ९० अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?