रवि लामिछानेको राहदानी छानबिन माग, सरकारी वकिलको कार्यालयमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी कीर्ते गरेको आरोपमा अनुसन्धान माग गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ।

प्रहरीले उजुरी नलिएको भन्दै युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार उजुरी दिएका हुन्।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि मुलुकी फौजदारी कार्याविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।

‘लामिछानेले गरेको कसूर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार कारवाही गरि पाउँ,’ निवेदनमा भनिएको छ, ‘कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारबाही गरी पाऊँ।’

लामिछानेले गैरनेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको राहदानी रद्ध गर्न तथा राहदानीसम्बन्धी कसूरको अनुसन्धान भई रहेको सिलसिलामा उनका नाममा नयाँ राहदानीसमेत जारी नगर्ने गरी कसूरको अनुसन्धान तथा कानून बमोजिम मुद्धाको कारवाही चलाउन उनले माग गरेका छन्।

२०७९ फागुन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि पेस गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेकोले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम यो उजुरी दर्ताका लागि जिल्ला प्रहरी परिसर टेकुको नाममा आदेश जारी गरिदिन हुन निवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?