काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेटमा लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताए ।
आइतबार प्रतिनिधिसभामा बजेटको मध्यावधि समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कृषि उत्पादनमा धानको उत्पादन बढे पनि उद्योगहरू पूर्ण क्षमतामा नचलेको कारण ८ प्रतिशतको वृद्धिदरको लक्ष्य पूरा गर्न नसकिने बताए । विश्व अर्थतन्त्रमा देखिएका समस्याले नेपालको अर्थतन्त्रमा समस्या परेको उनको भनाइ छ ।
५५ वर्षपछि अघिल्लो वर्षको तुलनाका वृद्धिदर कमी भएको भन्दै उनले बजेट सन्तुलन मिलाउन निकै चुनौती भएको बताए । “स्रोत व्यवस्थापन गर्न कठिनाइ भएमा आगामी दिनमा संशोधन गरेको बजेट अनुमानमा समेत कटौती हुनेछ,” अर्थमन्त्री पौडेलले भने, “अहिले सबैभन्दा बढी चुनौती नै स्रोत व्यवस्थापन गर्नुमा हो ।”
राजस्व नउठेको र अमेरिकी डलरमा भएको वृद्धिले विदेशी ऋणको ब्याज बढेको तथा आन्तरिक ऋणको ब्याजदर बढ्दा चालु खर्चमा थप दबाब भएको उनले जानकारी दिए ।
असार मसान्तमा ६६ अर्बले ऋणात्मक रहेको सरकारी कोष पुस मसान्तसम्म एक खर्ब ३९ अर्ब रुपैयाँले ऋणात्मक रहेको उनले जानकारी गराए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?