काठमाडौं : सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
नेपाली क्रिकेट टोलीका सदस्यहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । बालुवाटारमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले हालै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय शृंखला जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप जनही दुई लाख रुपैयाँ दिने घोषणा गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय शृंखलामा नेपालले चारवटै खेल जितेको थियो । शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।
“छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यसपटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ । हामी, नेपाल सरकारको तर्फबाट प्रेरणास्वरूप जनही दुई लाख रुपैयाँ दिने घोषणा गर्छु ।”
नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अर्को हप्ता यूएईमा हुने त्रिदेशीय शृंखलाका लागि त्यसतर्फ जाँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?