जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु

दमौली : तनहुँमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु  भएको  छ । व्यास नगरपालिका-१ भादगाउँ स्थित निर्मल माविको खेलमैदानमा आज देखि सुरु भएको हो  ।

रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुदको महत्व अपरिहार्य भएको बताएका छन् ।

विद्यार्थीलाई  खेलकुदले अनुशासित हुनका साथै स्वस्थ्य रहन पनि भूमिका खेल्ने भएकाले खेलकुदको विकासका हरेक स्कुलले लगानी गर्नु पर्ने वाग्लेले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले  गुणस्तरीय पठनपाठनका साथै खेलकुदलाई पनि उच्च प्राथमिकतामा राख्नु पर्ने  बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका उपसभापति दिनेश कुमार श्रेष्ठ लगायत खेलाडीहरु तथा शिक्षक प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

रनिङशिल्डमा भलिबल, कँराते, एथलेटिक्समा विद्यार्थीबीच प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागुन २१ , २२ र २३ गते हुने प्रदेशस्तरीय रनिङशिल्डमा भाग लिन पाउने अध्यक्ष पाण्डेले बताए ।

समापन भोलि हुने  प्रतियोगितामा जिल्लाका १० वाटै पालिकाबाट विभिन्न विधाका करिव ६ सय ५० जना  खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?