काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट मनाङबाट निर्वाचित भएका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेलसहित सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहितका आरोपीलाई भृकुटीमण्डपको जग्गा प्रकरणमा दोषी ठहर गरेको हो ।
गुरुङसहित पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने, कुञ्जबिहारी प्रसाद चौधरी, प्रमोद मेहता, हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, रविन्द्र गुरुङ्ग, रत्न गाहा मगर, बलबहादुर स्वाँर, मदनप्रसाद रिमाल, प्रेमसिं धामी, जगदेव चौधरी, रविन्द्र कुमारसमेत दोषी ठहर भएका छन् ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको भन्दै गुरुङसहित १६ जनाविरुद्ध ०७५ माघ २१ गते भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
उनीहरुलाई तोकिएको सजायबारे भने कुनै विवरण उपलब्ध भएको छैन । दोषी ठहर भए पनि सजाय के के हुने भन्ने बारेका थप विवरण आगामी फागुन २५ गते आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?