एप्पलको नयाँ ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ ।
एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ ।
नयाँ सिरिजको फोनको नाम आईफोन १३ नै हुने अनुमान गरिएको छ । आईफोनको आधिकारिक घोषणामा भने फोनको कुनै नाम दिइएको छैन ।नयाँ सिरिजका फोनहरू आईफोन १२ कै साइजमा आउने र धेरैजसो फिचरहरू एन्ड्रोइड फोनको जस्तै हुने पनि अनुमान गरिएको छ ।सेप्टेम्बर १४ मा हुने समारोहमा एप्पलले आइफोन १३ का अलावा एप्पल वाच सिरिज सेभेन तथा एयरपड्स थ्री पनि लञ्च गर्ने अपेक्षा गरिएको छ ।
एप्पलको आसन्न आइफोन १३ का विशेषता र फिचर्सका बारेमा पनि विभिन्न खाले समाचारहरु सार्वजनिक भैसकेका छन् । रिपोर्टमा दाबी गरिए अनुसार आइफोन १३ मा स्याटेलाइट कनेक्टिभिटी हुनेछ, जुन निश्चित ठाउँहरुमा मात्र उपलब्ध हुने बताइएको छ । उक्त फिचरका कारण मोबाइल नेटवर्क नभएका ठाउँमा समेत आइफोनले काम गर्नेछ ।
आइफोन १३ मा आइओएस १५ अपरेटिंग सिस्टम हुने बताइएको छ । साथै यसको ब्याट्री क्षमता पनि उत्कृष्ट हुने बताइएको छ ।
आइफोन १३ सिरिजमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी गरी चारथरी मोडेल हुने बताइएको छ । समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि-बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ ।
आइफोन १३ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिए अनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।
म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १३ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । यसमा अटोफोकसन सपोर्ट रहनेछ । आइफोन १२ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।
आइफोन १३ सिरिजमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ ।
नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्दतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न सक्नेछन् ।
आइफोन १३ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । FrontPageTech.com को रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ ।
फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?