आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएकाे छ ।
घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए ।
यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् ।
जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।
सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?