
काठमाडौं : नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले बढेको छ ।
विश्वका अर्बपतिको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको अर्बपतिहरुको २०२३ को सूचीमा विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर छ । गतवर्ष उनीसँग एक अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ति थियो ।
आजको डलरको विनिमयदर अनुसार हेर्दा नेपाली रुपैयाँमा विनोद चौधरीसँग दुई खर्ब ३६ अर्ब रुपैयाँको सम्पत्ति रहेको छ ।
चौधरी १० वर्ष अगाडि फोर्ब्सको अर्बपतिको सूचीमा परेका थिए । १० वर्षमा चौधरीको सम्पत्ति ८० करोड अमेरिकी डलरले बढेको छ । दुई वर्षमा बाहेक उनको सम्पत्ति हरेक वर्ष बढ्दो क्रममा छ ।
चौधरीको नेपालमा नबिल बैंकसहित उद्योग, होटल तथा ट्रेडिङ क्षेत्रमा लगानी रहेको छ । यस्तै, विदेशमा उनको होटल, रियलस्टेटमा लगानी रहेको छ ।
फोर्ब्सले सार्वजनिक गरेको २०२३ को सुचीअनुसार अर्बपतिको संख्या घटेको छ । सन् २०२२ को लिस्टमा दुई हजार ६६८ जना अर्बपति थिए । २०२३ मा दुई हजार ६४० मा अर्बपतिको संख्या रहेको छ ।
फोर्ब्सका अनुसार सबैभन्दा बढी अर्बपति अमेरिकामा छन् । अमेरिकामा ७३५ जना अर्बपति छन् । जसको सम्पत्ति ४.५ ट्रिलियन डलर रहेको छ ।
अर्बपतिको संख्या दोस्रो बढी हुने देशमा चीन रहेको छ । चीनमा ५६२ जना छन् । जसको सम्पत्ति २ ट्रिलियन रहेको छ ।
यस्तै, भारत तेस्रोमा रहेको छ । भारतमा १६९ जना अर्बपति छन् । जसको सम्पत्ति ६७५ अर्ब अमेरिकी डलर रहेको छ । विश्वको सबैभन्दा धनी व्यक्तिमा अहिले फ्रान्सका बर्नाड अर्नाल्ड रहेका छन् । जसको सम्पत्ति दुई खर्ब ११ अर्ब अमेरिकी डलर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?