रास्वपाले निलम्बन गरेका सांसद श्रेष्ठ भन्छन्- मैले दुर्गा प्रसाईंसँग पैसा मागेको होइन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गरेका छन्।

आइतबार दिउँसो कपुरकोट मिडियाले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो।

अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ। श्रेष्ठले भने आफूले प्रसाईंलाई चिन्दै नचिनेको दाबी गरेका छन्।

‘म पोखराको मान्छे, उहाँ झापाको। व्यक्तिगत रूपमा मैले उहाँलाई चिनेको पनि छैन,’ श्रेष्ठले भने,‘हाम्रो पार्टीले लेबीबाहेक हामीसँग कुनै पैसा पनि मागेको छैन।’

उनले आफू मन्त्री बन्ने योजनामा कहिल्यै नभएकाले मन्त्री हुनलाई पैसा माग्यो भन्ने कुरा सरासर झुठो भएको दाबी गरे।

‘मलाई मन्त्री बन्नु छैन, बन्नका लागि पैसा नै चाहिने भए पनि एक/डेढ करोड पैसा आफैं दिनसक्ने हैसियत भएको मान्छे हुँ,’ श्रेष्ठले भने।

उनले अडियोमा सुनिएको बोली आफ्नो नभएकोसमेत जिकिर गरे।

‘म अहिले तपाईंसँग बोलिरहेको छु नि, यो मेरो स्वर हो,’ उनले भने,‘यो स्वर त्यो अडियोसँग मिल्छ त?’

त्यो अडियोको बोली तपाईंको हो कि होइन भन्ने परीक्षण गर्न मिलिहाल्छ नि, तपाईं परीक्षण गर्न तयार हो? भन्ने प्रश्नमा उनले भने- त्यो पनि गर्नुपर्ला।

पार्टीले आफूलाई निलम्बन गरेकोबारे जानकारी नआएको उनले बताए। ‘म पोखरामा छु। पार्टी सभापतिसँग फोनमा कुरा गर्न खोज्दैछु,’ श्रेष्ठले भने।

सेतोपाटि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?