पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी

दमौली : नेपाली कांग्रेस युवा नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताएका छन् ।  तनहुँ १ का मतदाताले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र  वैशाख १० गते हुने उपनिर्वाचनमा मन्त्री बनाउने अवसर आएको बताए ।

सो कुरा नेता भण्डारीले तनहुँको व्यास नगरपालिका–१० वैरनीमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै बताएका हुन् । गठबन्धनको सरकार भएकाले जनताले विकासको पूर्वाधार निर्माणको लागि गठबन्धनकै उम्मेदवारलाई जिताउँदा सहज हुने भएकोले जीत सुनिश्चित रहेको उनको भनाई थियो ।

‘‘यसपटक गोविन्द भट्टराई जिताएर मन्त्री बनाउनु पर्छ त्यसको साथ दिन म तयार छु भण्डारीले भन्नुभयो,सरकार भए नै काम गर्न सकिन्छ ।’’ उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकोले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नु पर्ने भण्डारीको भनाई थियो ।

भट्टराई आफू भन्दा पनि सिनियर नेता भएको र अवसर नपाएको भएपनि  जिल्लाको विकास ठुलो योगदान दिएको बताउनुभयो ।
‘‘गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ नेता भण्डारीले भने स्थायी सरकार र समृद्धिको लागि गठबन्धन गरिएको हो ।’’

एमाले अध्यक्ष केपी प्रधानमन्त्री बन्दा संविधान कुल्चने, गणतन्त्रलाई उल्टाउने र पार्टी फुटाउने चेष्टा भएपछि गठबन्धन गरिएको भण्डारीको भनाई थियो । राजनीतिक स्थायित्व विना देशको विकास हुन नसक्ने कुराको हेक्का राख्दै गठबन्धन गरिएको  भण्डारीले बताए । उत्येजना तथा भावावेशमा आएर राजनीतिले सही निकास दिन नसक्ने भण्डारीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षत्रीय सचिव तुलसीराम सापकोटा, व्यास नगर सभापति सूयचन्द्र हड्खले, वडा सभापति प्रेमराज मिश्र लगायतले मङ्सिर ४ गतेको चुनावमा भारी मतान्तरले गठबन्धनको उम्मेदवारले चुनावमा जितेकोले उच्च मनोवल बनाई सबै जना मिलेर प्रचार प्रसार जुट्न जरुरी रहेको कुरामा जोड दिएका थिए ।

भण्डारीलाइ उपनिर्वाचनको लागि सत्ता गठबन्धनले चुनावी कमाण्डर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?