काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखिएको बताएका छन् । बिहीबार नयाँ वर्षको अवसमार दिइएको शुभकामना सन्देशमा पूर्वराजा शाहले अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उल्लेख गरेका छन् ।
“अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ,” शुभकामना सन्देशमा शाहले भनेका छन् ।
पूर्वराजा शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको टिप्पणी गरेका छन् ।
“राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो,” उनले भनेका छन् ।
उनले जानेर वा नजानेर देशका विभिन्न पक्षबाट भएका कमजोरीका कारण गौरवशाली इतिहास बोकेकोदेशले धेरै दुःख पाएको बताएका छन् ।
उनले सरकारको आर्थिक नीतिमा पनि प्रश्न गरेका छन् । “हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरूको आर्थिक कारोबार आम विपन्न वर्गको उत्थानमा परिचालित छैन । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वाभाविक हो । युवापिढी, विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ,” शाहले भनेका छन् ।
शाहको शुभकामना सन्देशमा के छ ?
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
नयाँ वर्ष २०८० को उपलक्ष्यमा बक्सेको सन्देश
नेपाली दिदी बहिनी तथा दाजुभाइहरू
विक्रम सम्बत २०७९ लाई बिदाई गर्दै अहिले हामी २०८० मा आईपुगेका छौं । नयाँ वर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरूमा जानेर नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अर्न्तराष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।
हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ ।विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरूको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं । देशलाई थाहा पाई पाई बरवादी तिर नधकेलौं ।
नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगति तर्फ लागौ । सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस । नयाँ बर्ष २०८० सुन्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस यही हाम्रो शुभेच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल
२०८० साल बैशाख १ गते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?