काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताएकी छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्ति र सिंहदरबारको फोहोर नउठाइएको विषयमा यस्तो बताएकी हुन् ।
“स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसानुसार चल्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “कानुन, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के ?”
उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताइन् । उनले जनस्वास्थ्यमाथि खेलबाड गर्न नहुनेमा जोड दिइन् ।
“अर्को कुनै उद्देश्यपूर्तिका निमित्त, अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु हुन्न,” उनले भनिन्, “जिम्मेवार पदाधिकारीले यस्तो विषयमा बोल्नु र कदम चाल्नुले राम्रो सन्देश दिँदैन । जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन ।”
सुकुम्वासी व्यवस्थापन गर्न संघ सरकारले सहयोग गरेन भन्ने विषयमा बालेनले हड्ताल गरेको आरोप उनले लगाइन् । एकैपटक डोजर लगेर भत्काउने नभई त्यो कानुनी ढंगले टुंग्याउने विषय भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?