दमौली : यो वर्षको पूर्वसन्ध्यामा तनहुँको बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
नयाँ बर्षको अवसरमा बन्दीपुरमा १०औ बन्दीपुर सांस्कृतिक,मौलिक तथा सडक खाना महोत्सव हुँदैछ ।
“सडमै खाऊँ सडकमै रमाऊँ, आन्तरिक तथा बाहय पर्यटक प्रवद्र्धन गरौ” भन्ने मूल नारा सहित आज चैत्र ३० गते र २०८० बैशाख १ र २ गते सांस्कृतिक,मौलिक तथा सडक खाना महोत्सव आयोजना गरेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ,बन्दीपुर बजार इकाई समिति, क्षेत्रिय होटेल संघ,बन्दीपुर बजार इकाई, बन्दीपुर पर्यटन विकास समिति, रेवान तनहुँ,बन्दीपुरको संयुक्त आयोजना तथा बन्दीपुर गाउँपालिकाको संरक्षक रहेको छ ।
वाणिज्य संघ,बन्दीपुर बजार इकाई समितिका अध्यक्ष घनश्याम उपाध्यायले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भित्र्याउने उदेश्यले यो ३ दिने महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवमा मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न जातजातिको झाँकी प्रदर्शन, बन्दीपुरमै उत्पादित अर्गानिक खानेखुराहरुको स्टल राखी प्रदर्शन लगायतका कार्यक्रम हुनेछन् ।
मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । नेपालको संस्कृति,परम्परा र मौलिकतालाई सडक महोत्सवमार्फत् उजागर गर्न खोजिएको बन्दीपुर पर्यटन विकासका अध्यक्ष किसन प्रधानले बताए । सडक महोत्सवमा पचास हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ भने महोत्सव आयोजनामा १५ लाख खर्च हुने उनको भनाइ छ ।
महोत्सवमा नेपालका सबै स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।
रेवान तनहुँ बन्दीपुरका अध्यक्ष जितेन्द्र भुमिले निजी क्षेत्रले गरेको सडक महोत्सव भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनका अनुसार बन्दीपुरका होटलले दैनिक ५ हजार पर्यटकलाई सेवा दिन सक्ने बताए। नेपाल आउने कूल पर्यटकमध्ये ३० प्रतिशत बन्दीपुर घुम्न आउने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?