गैँडाकोट : नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।
आज बिहान बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नम्बर ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरे ।
केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु. ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरूका लागि रु. ४१५ ज्येष्ठ नागरिकका लागि रु. ४१५ र फरक क्षमता भएकाहरूका लागि रु. २७५ को टिकट दर राखिएको छ ।
केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र तीन फिटभन्दा कमका बच्चाबच्चीहरूका लागि नि:शुल्क सेवा दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?