गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।

शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री अधिकारीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३५ मत पर्‍यो ।

मुख्यमन्त्री अधिकारीलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा २४ सांसदले मात्रै मत दिए । ६० सदस्यीय गण्डकी प्रदेशमा , कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) , राप्रपाको २ र एकजना स्वतन्त्र सांसद छन् ।

नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?