महावीर पुनसँग सरकारले गर्‍यो ७ बुँदे सहमति

काठमाडौं : सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच ७ बुँदे सहमति भएको छ। सोमवार उप-प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबिच सहमति पत्रमा हस्ताक्षर भएको हो। पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रवारदेखि अनसन सुरु गरेका थिए।

यस्ता छन् पुनका माग – महावीर पुन र सरकारबिच सहमतिको प्रयास

७ बुँदे सहमति

अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। ‘आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने,’ सहमतिमा भनिएको छ। कोष सञ्चालनका लागि संसदमा विधेयक प्रस्तुत गर्ने पनि सहमति भएको हो। ६० दिनभित्र विधेयक तयार गर्ने पनि सहमति पत्रमा उल्लेख छ।

संघीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको हो। आविष्कारबाट उत्पादित वस्तुलाई अनुमति दिने पनि सहमतिको बुँदामा उल्लेख छ। ‘आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, संचालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित कानूनमा सुधार गरी सहजीकरण गर्ने,’ सहमतिमा भनिएको छ। यो सहतिसँगै पुनले थालेको आन्दोलन पनि स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?