उत्कृष्ट हस्तलेखनको उपाधि पाएकी सदिक्षा थोकर तामाङको बेलायतमा उपचारको क्रममा निधन

लण्डन :  उत्कृष्ट हस्तलेखनको उपाधि पाएकी उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिक्षा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको हो ।

सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिक्षाले अकालमै ज्यान गुमाउनु परेको छ ।

२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर-आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ ।

अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर-आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।

इनेप्लिज डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?