सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालको एक अभिव्यक्ति संसद् सचिवालयको रेकर्डबाट हटाइएको छ ।

यही जेठ १० गतेको संसद् बैठकमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको बताएका थिए । शनिबार सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

“सांसद लेखनाथ दाहालले विचार गरेको स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,” सभामुखले निर्देशन दिँदै भने ।

त्यसपछि संसद् सचिवालयले सो अभिव्यक्ति अभिलेखबाट हटायो ।

सांसद दाहालको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?