मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते

मुग्लिन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?