
काठमाडौं : १८ जेठदेखि मनसुन अवधि सुरु हुने भनिए पनि नेपालमा औसतमा १३ जुनसम्म मनसुन भित्रिसक्नुपर्ने हो । गत वर्ष एक साताअघि नै मनसुन भित्रिएको थियो ।
मौसमविद् राजु प्रधानांगले १५ जुन अर्थात् जेठको अन्तिम दिनसम्म मनसुन भित्रिन सक्ने अनुमान रहेको बताए । तर, यसपालिको मनसुनमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको छ ।
मौसम विभागले यसअघि बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण गरेकामा २५ जेठमा संशोधन गर्दै मुलुकभर नै औसतभन्दा कम पानी पर्ने आकलन गरेको छ ।
प्रशान्त महासागरमा एलनिनोको अवस्था देखिएको र पछिल्लो समयमा पूर्वानुमानका मोडलमा पनि सुक्खाको अवस्था देखाएकाले देशभर नै कम पानी पर्ने अनुमान गरिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् ।
देशभर रहेका २५८ वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा ५७ वटामा वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ७४.४ मिलिमिटर वर्षा भएको छ ।
आइतबार राति काठमाडौं उपत्यका, मकवानपुरलगायतका क्षेत्रमा वर्षा भएको छ । सोमबार कोसी, बागमती र गण्डकीका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?