दीपकराज गिरिको पोस्टभन्दा त्यसैमा माग्ने बुढाले गरेको कमेन्टमा लाइक धेरै आएपछि…

काठमाडौं : सोमबार बिहान पख कलाकार तथा चलचित्र निर्माता एवम् निर्देशक दीपकराज गिरिले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गरे । जसमा उनले सामाजिक सञ्जालमा आफू विरुद्ध आइरहेका नकारात्मक कमेन्टहरूलाई लक्षित गरेका थिए ।

“एउटा भाइले भनेः दाइ फेसबुक हेर्नु भो तपाईंले गाली खाइरहनु भाछ । मैले भनेंः होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन,” उनले लेखेको पोस्टमा भनिएको थियो । त्यही पोस्टमा उनकै चलचित्र छक्कापञ्जामा सहकर्मी रहेका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले व्यङ्ग्य कस्दै कमेन्ट गरेः ‘छिमेकी र बाउको झगडा परेको बेला छिमेकीलाई फाइदा पुग्नेगरी बोल्दा दाजुभाइको एक दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’

सायद कलाकार गिरिलाई माग्ने बुढाको कमेन्ट पचेन । सोही कमेन्टको प्रतिउत्तरमा उनले लेखेः ‘वाऊ मेरो भाइको अर्को पपुलिस्ट कमेन्ट । स्टाटस नै लेखेको भए अझ बढी लाइक आउँथ्यो बाबु !’

तर गिरिले दिएको उक्त सल्लाहलाई नै गलत सावित गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्टमै लाइक बर्साइदिए । यो समाचार तयार पार्दासम्म दीपकराज गिरिको पोस्टमा १४ हजार लाइक पुगेका थिए भने सोही पोस्टमा माग्ने बुढाले गरेको कमेन्टमा लाइकको आँकडाले १६ हजार काटिसकेको थियो ।

वास्तवमा काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ले हिन्दी चलचित्र आदि पुरुषबाट विवादित अंश नहटाए महानगर क्षेत्रभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेको विषयमा फेसबुकमा गरेको पोस्टलाई लिएर गिरि आलोचित बनिरहेका छन् । उनले एक दिन अघि मात्र फेसबुकमा लेखेका  थिए, “समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौं ।

उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ…।” कतिपयले  आदि पुरूष नामक हिन्दी चलचित्र चल्न नदिने बालेनको अडानको विषयमा दीपकराज गिरि र माग्ने बुढाबीच मतभेद सामाजिक सञ्जालमा पोखिएको रूपमा अर्थ्याएका छन् ।

साथै अब गिरिले माग्ने बुढालाई छक्कापञ्जा चलचित्रको सिक्वेलबाट अलग्याउने लख समेत काट्न थालिएको छ । यसअघि ‘महानायक विवाद’लाई लिएर दीपाश्री निरौलालाई मुन्द्रेको कमेडी क्लबको जजबाट हटाएपछि जितु नेपाल ‘मुन्द्रे’ छक्कापञ्जा टिमबाटै बाहिरिनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?